गाउँभरि केराखेती, बजारको अभाव
म्याग्दी | पुस १९, २०८१
बेनी: एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए ।
'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।'
खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् ।
यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ ।
केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए ।
प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ ।
बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए ।
स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।
खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए ।
केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...
वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

